जहदा गाउँपालिका — सलह समस्याको समाधान नहुँदै खेतबारीमा ‘वेस्टर्न टेन्ट क्याटरपिलर’ नामक नयाँ झुसिलकीराको प्रकोप सुरु भएको छ । मोरङको जहदा गाउँपालिकाको खेतबारीमा यो कीरा देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरबाट यो गाउँपालिका करिब १३ किमि पूर्वदक्षिणमा पर्छ ।बोटबिरुवामा माकुरोको जालो लगाई बस्ने यो कीरा अहिले विशेषगरी आँपका बोट र कर्कलोमा देखिएको गाउँपालिका कार्यालयका कृषि प्राविधिक सौरभसिंह राजपुतले जानकारी दिए । ‘आँपका बोटमा यसको असर बढी छ,’ उनले भने, ‘आँपको पात गुलियो भएर पनि हुन सक्छ ।’ पूर्वका खेतबारीमा दुई सातादेखि यो कीरा देखापरे पनि स्थानीयले वास्ता नगरेको उनको भनाइ छ ।
गाउँपालिकाको कृषि शाखाको प्राविधिक टोलीले स्थलगत अवलोकन गरेर कीराको पहिचान गरेको जहदाका किसान एवं जेटीए राजेन्द्र साहले बताए । ‘यो कीराले पात खाइरहेको पाएका छौं, फैलिएर अन्य बालीनालीलाई पनि असर पार्ने हुनाले नियन्त्रणमा लागिसकेका छौं,’ राजपुतले भने । झुसिलकीराको यो नयाँ प्रजाति नेपालमा हालै भित्रिएको हुन सक्ने विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका अधिकृत मुकेश यादवको भनाइ छ । यो कीरा क्यानडाको दक्षिण, अमेरिकाको पश्चिम र मेक्सिकोमा पाइने गरिए पनि यहाँ कहाँबाट आयो भन्ने यकिन हुन नसकेको उनले बताए ।‘यो कीरालाई विषादीले सहजै मार्ने हुनाले चिन्ता गर्नुपर्दैन,’ यादवले भने । यसलाई मार्न क्लोरोपायरिहपोस २० प्रतिशत इसी नामक सम्पर्क विषादी प्रयोग गर्नेबारे किसानलाई जानकारी दिइसकेको उनले जानकारी दिए । ‘यो कीरा आगोले पनि मर्छ तर बोटलाई असर पार्ने हुनाले विषादीकै प्रयोग गरिरहेका छौं,’ प्राविधिक राजपुतले भने ।
अत्यधिक वर्षाले मकै, तरकारी र धान खेत डुबानमा परेर यहाँको किसान मर्कामा छन् । त्यसमाथि यो कीराले पात खाएर आँपको बोटलाई नष्ट गरेको उनले जनाए । एउटा बोटको पात सखाप पारेपछि यो कीराहरु अर्को बोटतिर लाग्ने गरेको राजपुतले बताए । ‘कटहरको बोटमा भने यो कीरा देखिन्न, पात नमिठो भएर होला,’ उनले भने ।
कृषक बहुल जहदाका हरेक घरमा एक/दुई आँपका बोट छन् । कृषि प्राविधिक राजपुतकै दुई बिघा जग्गामा आँपका बोट छन् । यो गाउँपालिकानजिकैको पारी बिहारको सुन्दरी मठमा बर्सेनि फागुनमा लाग्ने धार्मिक मेलामा सस्तोमा आँपका बिरुवा पाइने हुनाले स्थानीयले किनेर ल्याउने गरेका छन् ।
अन्य मुलुकमा मे र जुनमा यो कीरा देखिने गरेको प्राविधिक बताउँछन् । जीउभरि रौं हुने यो कीरा ४/५ सेमि लामो हुन्छ । टाउको नीलोकालो र शरीरको रङ कालो, सुन्तला एवं नीलोको मिश्रण हुन्छ । यो विशेषगरी रातिपख जालोबाट बाहिर निस्केर आहार खान्छ ।
कान्तिपुर बाट साभार गरिएको l